ढल्केवर, धनुषा
आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा महिला उम्मेदवारको संख्या कम भएको विषयलाई लिएर महिला अधिकारीकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । देशमा पुरुषको भन्दा महिलाको संख्या बढी भएपनि पुरुष उम्मेदवारको तुलनामा महिला उम्मेदवारको संख्या न्यून रहेको प्रति उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
महिला अधिकारकर्मीहरुले राजनीतिक दलहरुले महिलालाई नेतृत्व दिनबाट बञ्चित गर्न खोजेको आरोपसमेत लगएका छन् ।
संविधानले तोकेको ३३ प्रतिशत महिला सहभागिताको अधिकारलाई राजनीतिक दलहरुले पालना नगर्दा महिला उम्मेदवारको सङ्ख्यामा कमी देखिएको ओरेक नेपाल धनुषा शाखाकी प्रमुख रोजलिङ सिंह बछारले बताइन् । उनले आसन्न निर्वाचनमा महिलालाई सामान अवसर प्रदान गर्न विभिन्न राजनीतिक दलको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको भएपनि अवसर नदिएको जनाइन् ।
हालसम्म दुईवटा संविधानसभा निर्वाचन र प्रतिनिधि एवम् प्रदेशसभा निर्वाचन भइसक्दा पनि महिलालाई सधैं कोटामा सीमित राख्दै आएको बताउँदै महिला अधिकारीकर्मी समेत रहनु भएकी बछारले आसन्न निर्वाचनमा पनि महिलालाई अवसर नदिनु विडम्बना भएको भनिन् ।
त्यसैगरी, टिपिओ नेपाल धनुषा प्रतिनिधि तथा महिला अधिकारर्की बिना कडारीले प्रत्यक्ष निर्वाचनमा महिलालाई आरक्षणको व्यवस्था नगरेसम्म सहभागिता बढ्न सक्ने अवस्था नदेखिएको बताइन् ।
आसन्न निर्वाचनलाई लक्षित गरी प्रत्यक्षतर्फ महिला उम्मेदवारी कसरी बढाउन सकिन्छ भन्ने विषयमा बहस चलाइएको बताउँदै महिला अधिकारीकर्मी कडारीले बहस कार्यक्रममा महिलाको उम्मेदवारी बढाउनुपर्नेमा दलका नेताहरुले जोड दिने गरेको भएपनि कार्यान्वयनमा ल्याउन नसकेको जनाइन् ।
आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा देशभरीमा ९ प्रतिशत मात्रै महिलाको उम्मेदवारी परेको छ ।
यस्तै, धनुषा जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि कूल १०३ जनाले उम्मेदवारी दर्ता भएको छ । जसमध्ये ६ जना महिलाले मात्रै प्रत्यक्षतर्फ उम्मेदावरी दर्ता गराएकी छन् । धनुषा–३ मै सबै उम्मेदवारी परेको छ । त्यस बाहेक अन्य क्षेत्रमा एकजना पनि महिला नेतृको उम्मेदवारी परेको छैन ।
६ जना महिला उम्मेदवारमध्ये तीनजना दलगत र तीनजना स्वतन्त्र उम्मेदवारी नै दिएकी छन् । नेकपा एमाले र जसपाबीचको गठबन्धनबाट एमाले नेतृ जुलीकुमारी महतो, नेपाल जनता पार्टीबाट पुनम चौधरी र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालको तर्फबाट प्रविणाकुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ । यस्तै, ज्योतिकुमारी साह, पुजा साह र मिलनकुमारी साहले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
यसैगरी, प्रदेशसभा सदसयका लागि प्रत्यक्षतर्फ १३८ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको सङ्ख्या १० मात्र रहेको छ ।