धनुषा ४ मा कांग्रेस उम्मेदवार यादवलाई जिताउन कार्यकर्ता सक्रिय

|

ढल्केबर, धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई विजयी गराउन कार्यकर्ताहरू सक्रिय रूपमा मैदानमा उत्रिएका छन् । घरदैलो अभियान, टोलस्तरीय भेटघाट, युवा परिचालन र मतदाता सचेतना कार्यक्रमलाई तीव्र बनाइएको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव बुधेश्वर महतोका अनुसार २०७९ सालको निर्वाचनमा १२४ मतको झिनो अन्तरले भएको पराजय यसपटक जितमा परिणत गरिनेछ । ‘त्यो परिणामले हामीलाई निराश बनाएको थिएन, बरु थप संगठित र सक्रिय बनाएको थियो,’ महतोले भन्नुभयो, ‘यसपटक विगतको झिनो हारको बदला कांग्रेसले लिन्छ।’

गत निर्वाचनमा एमाले नेता रघुवीर महासेठ ३२ हजार २३६ मतसहित विजयी हुँदा यादवले ३२ हजार ११२ मत प्राप्त गर्नुभएको थियो। मतान्तर अत्यन्त न्यून रहेकाले कांग्रेसले यसलाई ‘जनमतको स्पष्ट संकेत’ का रूपमा लिएको छ ।

कांग्रेसले बटेश्वर र लक्ष्मीनिया गाउँपालिकासहित मिथिला, क्षिरेश्वरनाथ, मिथिला विहारी नगरपालिका तथा जनकपुरधाम उपमहानगरपालिकाका सम्बन्धित वडाहरूमा सघन अभियान सञ्चालन गरिरहेको जनाएको छ । प्रत्येक वडामा सम्पर्क समिति गठन र नियमित घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

क्षेत्रीय सचिव महतोका अनुसार पार्टीभित्र यसपटक पूर्ण एकता कायम छ । ‘अघिल्ला निर्वाचनबाट सिकेका छौं । अब कुनै मत खेर जान दिँदैनौं । सबै तहका नेता–कार्यकर्ता एउटै लक्ष्यका साथ जुटेका छन्,’ उहाँले भन्नुभयो।
कांग्रेस उम्मेदवार यादवलाई जिताउन युवाहरूको विशेष सक्रियता देखिएको छ । सयौँ युवाहरू स्वयंसेवी रूपमा प्रचार–प्रसार, सामाजिक सञ्जाल अभियान र मतदाता समन्वयमा खटिएका छन् । क्षेत्रीय नेतृत्वले युवा, महिला र किसान समूहलाई लक्षित गरी छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

कार्यकर्ताहरूको भनाइमा यादवको विगतको मन्त्रीकालीन अनुभव, संगठन निर्माणमा योगदान र क्षेत्रसँगको निरन्तर सम्बन्धले उहाँलाई बलियो उम्मेदवार बनाएको छ । ‘यो चुनाव व्यक्तिको मात्र होइन, क्षेत्रको विकासको मुद्दा हो,’ महतोले जोड दिनुभयो ।
उम्मेदवार यादवले मतदातासँग विगतको झिनो मतान्तर स्मरण गराउँदै यसपटक विश्वासको मत दिन अपिल गरिरहनुभएको छ । खानेपानी, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाइएको उहाँको चुनावी कार्यक्रमले मतदातामाझ सकारात्मक सन्देश दिएको कार्यकर्ताहरूको दाबी छ ।

धनुषा–४ मा बहुपक्षीय प्रतिस्पर्धा रहे पनि कांग्रेस वृत्तमा उत्साह उच्च देखिन्छ । क्षेत्रीय सचिव महतोको भनाइमा, ‘जनताको चाहना परिवर्तन र परिणाममुखी नेतृत्व हो । त्यो नेतृत्व महेन्द्र यादव नै हुनुहुन्छ ।’ चुनाव नजिकिँदै जाँदा धनुषा–४ को प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । तर कांग्रेस कार्यकर्ताहरू भने यसपटक परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क देखिएका छन् ।