नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा धनुषा ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले जनताले उम्मेदवारसँग प्रश्न गर्नु स्वाभाविक र जायज भएको बताउनुभएको छ । तर प्रश्नको केन्द्र विगतमा निर्वाचित भएर पनि अपेक्षाअनुसार काम नगर्नेहरूमाथि हुनुपर्ने उहाँको तर्क छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रघुवीर महासेठ निर्वाचित हुनुभएको थियो । उहाँ नेकपा (एमाले) का नेता हुनुहुन्छ । तर यसपटकको चुनावी माहोलमा स्थानीय तहदेखि गाउँ बस्तीका चोकसम्म विकास, रोजगारी, सडक, सिंचाइ र शिक्षा–स्वास्थ्यका विषयमा व्यापक बहस भइरहेको छ । धेरै मतदाताले विगतका प्रतिनिधिले अपेक्षा अनुसार परिणाम दिन नसकेको गुनासो गर्दै आएका छन् ।
यही सन्दर्भमा उम्मेदवार यादवले भन्नुभयो, ‘उम्मेदवारलाई प्रश्न गर्नु जनताको अधिकार हो । तर प्रश्न उसलाई गर्नुपर्छ, जो विगतमा निर्वाचित भएर गयो । म त चुनाव जितेको छैन ।’ उहाँका अनुसार विगतमा निर्वाचित प्रतिनिधिले क्षेत्रको दीर्घकालीन विकासमा ठोस उपलब्धि दिन नसक्दा अहिले जनता हिसाब खोजिरहेका छन् ।
यादवले आफूले यसअघि दुई पटक प्रतिनिधिसभाको चुनाव लडे पनि निर्वाचित हुन नसकेको स्मरण गराउँदै, पदमा नपुगे पनि क्षेत्र विकासका लागि निरन्तर सक्रिय रहेको दाबी गर्नुभयो । ‘म चुनाव नजिते पनि धनुषा–४ मा सडक विस्तार, विद्यालय भवन निर्माण लगायतका थुप्रै काम गरेको छु’ उहाँले भन्नुभयो, ‘जनतासँगको सम्बन्ध चुनावमा मात्रै होइन, निरन्तर छ ।’
उहाँका अनुसार अहिले जनताका मनमा धेरै प्रश्न छन्–राजनीतिक दलप्रति विश्वास किन घट्दैछ ? विकासको बजेट कहाँ खर्च भयो ? युवालाई रोजगारी किन छैन ? किसानले उत्पादनको उचित मूल्य किन पाउँदैनन् ? ‘यी प्रश्नहरूबाट भागेर होइन, सामना गरेरै अघि बढ्नुपर्छ,’ यादवले भन्नुभयो, ‘कतिपय उम्मेदवार जनताको प्रश्नको डरले घरदैलो अभियान छोडिरहेका छन् भन्ने सुनिन्छ, तर म भने हरेक दिन घरदैलो अभियानमा छु ।’
यादवले आफ्नो चुनावी एजेन्डा स्पष्ट गर्दै शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार र युवा रोजगारीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले केन्द्र र प्रदेश सरकारबीच समन्वय गरेर धनुषा–४ लाई समग्र विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘हामी यथार्थ कुरा गर्छौं । जे गर्न सक्छौँ, त्यही भन्छौँ,’ उहाँले भन्नुभयो, ‘जनता अब भावनात्मक भाषण होइन, परिणाम चाहन्छन् । त्यसैले जनताको विश्वास जित्न पारदर्शिता र जवाफदेहिता आवश्यक छ ।’
केही मतदाताले विगतका सांसदप्रति असन्तुष्टि जनाउँदै यसपटक परिवर्तन आवश्यक रहेको बताएका छन् । जनकपुरधाम नजिकैको एक गाउँका युवा मतदाताले भने, ‘हामीले विकासको धेरै आशा गरेका थियौँ, तर ठोस उपलब्धि देखिएन । अब जो आउँछ, उसले काम गर्नुपर्छ’
यद्यपि केही मतदाताले भने पूर्व सांसद महासेठले राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको र केन्द्रमा पहुँच भएकाले क्षेत्रका लागि बजेट ल्याउन भूमिका खेलेको तर्क गर्छन् ।
धनुषा–४ मा यसपटकको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । विगतको कार्यसम्पादन, नयाँ प्रतिबद्धता र जनताको बढ्दो सचेतना यी तीनै तत्वले निर्वाचनको परिणामलाई प्रभाव पार्ने विश्लेषण भइरहेको छ । मतदाताले यसपटक काम गर्ने प्रतिनिधि छान्ने मनस्थितिमा रहेको स्थानीयको भनाइ छ ।

