अनिलकुमार कर्ण
बर्दिवास, पुस १४ गते ।
मनुष्य, पशुपक्षी, बोटबिरुवा र सिङ्गो प्रकृतिका लागि पानी आवश्यक छ । तर, जीवनदायिनी यो स्रोत बर्खाको ढाँचा परिवर्तनसँगै हराउँदै गएको छ । चुरे र भावर क्षेत्रमा मात्र होइन, अनियमित र ढिलो तथा अत्यधिक बर्खा हुने पछिल्लो तरिकाका कारण गन्न सकिने सँख्यामा तराईका टोलबस्ती काकाकुल बनिरहेका छन् ।
समथर फाँटबाट देख्नेहरूलाई बेलाबेलामा निलो र सफा देखिने चुरे पहाड नाङ्गो र मलिन हुँदै गएको कथाले ध्यान तान्दैन । पहाडको फेददेखि केही पर्तिर दक्षिणसम्मको भावरमा घना साल वनका सट्टा घर, बाटाघाटा र चउरको दृश्य उनीहरूलाई सधैँ देखिने द्रुत गतिको ’विकास ‘ जस्तै लाग्छ । तर, मैदानी भागका ती बासिन्दालाई भने उखरमाउलो गर्मीबाट असिनपसिन हुनुपर्ने, आगा ताप्न घन्टौँसम्म बलिरहने घुरको सर्जाम गर्नुपर्ने, खडेरी धपाउन ईन्द्रपुजा लगाउनुपर्ने, जलदेवको रिस शान्त पार्न आँगनमा उल्टो गाग्री राख्नुपर्ने जस्ता काम फेरिँदै जाने मौसमसँग गर्नुपर्छ भन्ने हेक्का छ । उनीहरूलाई गर्मीयाममा घरटोलका चापाकल सुक्दा पानी ओसार्न सरकारको टयाङ्कर पर्खने कि त घैलागिलन लिएर कोसौँ टाढासम्म पुग्ने भन्ने बाध्यताको खबर पनि छ । तर, वनविनाश र बस्तीविकासको लामो तथा अन्त्यहीन शृंखलाबाट चुरे विनास र त्यसको दुष्प्रभावले त्यतिसारो छोएको छैन । पानीको भण्डार चुरे उजाडिँदै जाँदा त्यहाँको जैविक विविधता र पारिस्थितिकीय प्रणाली बिग्रेभत्केको विषय उनीहरूका लागि अझै बेस्वादिलो विषय नै छ ।
पछिल्लो समयमा वातावरण पत्रकारिताको टेको समाएर जीवनकथा बुन्दै गरेका सञ्चारकर्मी विजयकुमार साह भन्छन्, ‘जार र बोतलबाट पानी खानेहरूका सहरमा पानीकथा बिक्दैन । विडम्बना नै भन्नुपर्छ, खेतीकिसानी गर्नेहरूका गाउँमा पनि बर्सेनि आउने बाढीले उर्वर खेत बञ्जर हुँदै गएको कारण खोज्ने फिकिर देखिँदैन ।’ उनका अनुसार बेलामा बर्खा नहुँदा, बाक्लो पानी पर्दा वा कुलोमा पानी नआउँदा बाली नसप्रेर दुःखी हुनेगरेका र वस्तुभाउलाई दानापानी मिलाउन नसकेर पशुपालनबाटै हटक भएर मजदुर बनेका किसानलाई त्यही चुरे पहाड नासिँदा उनीहरू सकसमा परिरहेको भन्ने कुराको हेक्का छैन ।
सबैभन्दा कान्छो पहाड चुरे खस्रो, खुकुलो र मलिलो छ । कमजोर र अस्थिर भूसंरचनाको यो पहाडमा वनजङ्गल फँडानी हुँदै प्रकृतिले थाम्न नसक्नेगरी फेददेखि टुप्पोसम्म बस्ती विकास भएको छ । बस्ती विकाससँगै सजिलै टुक्रिन र चर्किन सक्ने, फुसफुसे र बग्नेभासिने चुरेको माटो सम्याएर बाटाघाटा, बिजुलीबत्ती, विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन आदि मात्र खडा भएका छैनन्, खेतका असँख्या गाराहरू पनि बनेका छन् । यसबाट रूखविरुवाविहीन र भासिँदैभत्किँदै गएको चुरेले पानी सोस्न कम गरेको छ । घना वन, घाँस, झाडी र माटोले बर्खाको पानी बगेर सीधै जान नदिने बरु चुरेकै भूजलमा मिसाउने र बिस्तारै भूमिगत बाटाबाट पानी तराईमा पुग्ने प्रक्रिया बाधित भएको छ । यसरी चुरेको गर्भमा पानीको सञ्चिति कम हुँदा र पहाडको फेददेखि ढुङ्गा, गिट्टी, र त्यसभन्दा मसिना ढुङाकण अनि बाक्लो बालुवा पसारिएको भावर क्षेत्रबाट पनि ढुङ्गा, गिट्टी र बालुवाको अत्यधिक दोहन भएर जलप्रवाह हुने प्राकृतिक भूमिगत प्रणाली क्षतविक्षत भएपछि चुरेको पानी बग्न कम र सुुस्त भएको छ । चुरेको पानीले बाटो बिराउँदा भावरभन्दा दक्षिण अर्थात् तराईका चापाकलमा पानी आउन छाडेको छ । चुरेविज्ञ रत्नेश्वर लाल कर्ण भन्छन्, ‘चुरेको सीमित हुँदै गएको जलभण्डार दबाबमा छ । मानिस र पशुको भारले चुरेको पानी सोस्ने प्रकृति उच्चतहको जोखिममा छ ।’ उनका अनुसार चुरे भएर बग्ने खोलानालामा अड्न नसकेर गिट्टी, ढुङ्गा र वालुवा थेगिँ्रदै गएको छ । चुरेबाट उत्पन्न नदीको अवस्था पनि त्यस्तै छ । अझ बर्षभरि पानी आउने केही हिमनदीबाहेक प्रायःजसो सबै नदी खहरे भएका छन् । नदी खहरे हुँदा दक्षिणी फाँटमा समेत भूमिगत सतहको पुनर्जलीयकरण भएको छैन । र, यसले कामकाजी तथा गृहिणी महिलाको श्रम, समय र मानसिक पूँजी पानी खोज्ने काममै खर्च भएको छ । तिनका लालाबालाहरू कितापकापी थान्कोमुन्को लगाएर सरकारले पानी दिने आसमा भाँडा बोकेर ठाउँठाउँमा ताँती लाग्ने गरेका छन् ।
सरकारले प्राकृतिक रूपमा बसोबासको स्थान नमानिएको चुरे भएर बाटो विकास गर्दैछ । सहर बनाउने योजना अघि सार्दैछ । अनि खहरे बनेका चुरे नदी हवार्हवार्ती बग्ने पानीसँगै ढुङ्गा, गिट्टी र बालुवाले पुरिएर तल्लो फाँटमा बनेका बगरलाई छाडेर कुनै बेला चुरेको चारकोसे झाडी भनेर चिनिने घना वनमा सार्वजनिक संरचना बनाउँदैछ । अझ चुरेको जमिन सुकुमवासीका नाउँमा वितरण गर्ने कानुन ल्याउँदैछ । चुरे नदीमा हुँदैआएको नदीजन्य पदार्थको दोहनलाई वैधता दिनेगरी कानुनी व्यवस्था परिमार्जन गर्दैछ । चुरेविज्ञ डा.विजयकुमार सिँह भन्छन्, ‘राजनीतिक संक्रमणका बेला चुरे क्षेत्रमा भएको बस्ती विकासबाट सुरु भएको प्रँकृतिक दुष्चक्र सिर्जना गर्ने मानवीय प्रयास अब नदीजन्य पदार्थको अवैध, अनुचित र अनुल्लंघनीय दोहनसम्म पुगेको छ । यसले कालान्तरमा सिङ्गो तराई मरुभूमि बन्ने निश्चित छ ।’ उनले अन्नको भण्डार र पानी तराईको प्रसङ्गमा धेरै हदसम्म समानानार्थी हुनेहुँदा चुरे संरक्षणको बहुआयामिक र दीगो पहल नभए तराई मरुभूमिकरण जलविहीनताको त्रासद कथा बन्ने बताउँछन् ।
सरकारी आँकडाअनुसार देशको कुल भूभागको १२ दशमलव ७८ प्रतिशत रहेको चुरे क्षेत्रमा देशकै कुल जनसँख्याको करिब २६ प्रतिशत मानिस बसोबास गरिरहेका छन् । यो सँख्यात्मक रूपमा निकै ठूलो हिस्सा हो । र, यो क्रम दिनानुदिन बढ्दैछ । बसोबास वृद्धिसँगै पूर्वाधार विकासले पनि तीव्रता पाइरहेको छ । खहरे बनेका नदीहरूमा तिनका प्रकृतिअनुसार ढुगा, गिट्टी र बालुवा थेग्रिँदैछन् । खेत र नदी सतह एउटै तहमा आइसकेको र अझ केही ठाउँमा नदी सतह नै अग्लिएको सप्तरीको खाँडो खोलामा बर्सेनि १० सेन्टीमिटर ती पदार्थको थेग्राइ एउटा उदाहरण हो । कुनै बेला ४० फिटमा पानी आउने जनकपुरधामका चापाकलमा पानी ल्याउन कम्तीमा चार सय फिट पाइप गाड्नुपर्छ । ‘यो अत्यासलाग्दो अवस्था हो । त्यसैले अब तराईको बहस चुरे क्षेत्र केन्द्रित बन्नुपर्छ,’ जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह भन्छन् । जनकपुरधाममा गर्मीको मौसममा चापाकल सुक्न थालेपछि प्रमुख साह पोहोर साल चुरे क्षेत्र अवलोकन गर्न पुगेका थिए । जहाँ उनले चुरे संरक्षण गरी पाइपलाइनबाट सतहको पानी जनकपुरधामसम्म लयाउने योजनाबारे विषयविज्ञ र प्राविधिकहरूसँग छलफल गरेका थिए । तर, चुरेबाट पाइपलाइन जडान गरी पानी ओसार्न निकै खर्चिलो र झन्झटिलो हुने हुँदा उनी योजनाबाट तत्कालका लागि पछि हटेका थिए । चुरे संरक्षण र त्यस क्षेत्रबाट पानी आपूर्ति एकीकृत र समन्वयात्मक प्रयासले मात्र सम्भव छ । यसलाई मूर्त रूप दिन चुरे संरक्षण हुनुपर्छ । चुरे संरक्षणमा नै जोड दिइए भूमिगत प्रणालीबाट समेत तराईको भूमिगत सतहमा जलपुनर्भरण गर्न सकिन्छ । जसले चापाकल, कुँवाइनार र पोखरीहरूबाट पानी पाउन सकिन्छ । तर, यसका लागि नदीमा पानीको प्रवाह हुनुपर्छ । नदीमा पानीको प्रवाह संयमित, निरन्तर र वेगवान् बनाउनुको एकमात्र तरिका चुरे संरक्षण नै हो ।
चुरे संरक्षण अर्थात् त्यस क्षेत्रको प्राकृतिक बनौट, माटो, वनस्पति, जलस्रोत र पारिस्थितिकीय प्रणालीलाई जोगाउनुपर्छ । त्यसका लागि तराईमा अब चुरे बहस थालनी गरिनुपर्छ । महोत्तरीकी पत्रकार सुनिता बराल भन्छिन्, “टाउका अर्थात् चुरे रुग्न हुँदा त्यसको प्रभाव गोडा अर्थात् तराईमा पनि देखिन्छ । अब टाउकोको औषधोपचारका लागि गोडाले पनि पाइला चाल्ने बेला भएको छ ।” चुरे संरक्षणका लागि अब तराईले पिरलो मोल्नुपर्छ ।

